Monday, February 19, 2018

सकारात्मक जीवन सिकाउने नाटक

सकारात्मक जीवन सिकाउने नाटक



रविन भट्टराई सोमवार, माघ २२, २०७४

Share This


बिर्तामोड : अहंकार, ईष्र्या र घमण्डले मानिसलाई कुन हदसम्मको आपराधिक मानसिकताको बनाउँछ र समाजमा त्यसले कस्तो नकारात्मक भावना पैदा गराउँछ भन्ने जान्न एउटै ‘पर्खाल’ हेरे पुग्छ।
अहंकारको पर्खालले व्यक्ति आफैंलाई पछाडि धकेलिदिन्छ भन्नेमा कुरामा अहिले झापावासी पनि सहमत भएका छन्। क्षितिज नाट्य समूह झापा र झोराहाट नाट्य समूह मोरङले संयुक्त रूपमा मञ्चन गरेको नाटक ‘पर्खाल’ माघ १५ गतेदेखि झापाको बिर्तामोडस्थित अतिथि सदनमा प्रदर्शन भइरहेको छ। रंगकर्मी भरत गुरागाईंले लेखेको एक घन्टा लामो नाटकमा नकारात्मक भावना त्यागेर सरल र सकारात्मक जीवन जिउन अपिलसमेत गरिएको छ। नाटक सन्देशमूलक परम्परागत र यथार्थपरक देखिन्छ।
दाजुभाइबीचको सामान्य पारिवारिक मनमुटावलाई नाटकले बिम्बात्मक रूपमा प्रस्तुत गरेको छ। लहलहैमा नै अपराधको चंगुलमा फस्न बाध्य युवाहरूको अवस्थाको चित्रण पनि नाटकमा देख्न सकिन्छ। सौतेनी आमाका कारण सन्तानले भोग्नुपरेको पीडा, नशामा तल्लीन बुबाका कारण परिवारमा आइपर्ने समस्या, सन्तानको मनमुटावमा वृद्धाआमाले सहनुपर्ने पीडाजस्ता विषय पनि नाटकमा उतारिएको छ।
लेखक गुरागार्इं र निर्देशक प्रयाग न्यौपाने दुवैले नाटकमा अभिनय गरेका छन्। नाटकमा ध्वनि संयोजनमा फिल्मीपन बढी छ। प्रकाश संयोजन भने पात्र र परिवेश अनुकूल नै छ।
आयोजक क्षितिज नाट्य समूहका निर्देशक माधव कल्पितले झापामा बृहत् संग्रहालयसहितको नाट्यघर निर्माण गर्ने उद्देश्यले नाटक मञ्चन भइरहेको बताए। ‘पर्खाल’ लाई प्रयाग न्यौपानेले निर्देशन गरेका छन्। उनले भने, ‘समाजको यथार्थ चित्रण गर्ने हाम्रो प्रयास हो।’
‘पर्खाल’ सुजाता भट्टराई र प्रदीप संग्रौलाले निर्माण गरेका हुन्। नाटकमा भरत गुरागाईं, प्रज्ज्वल काफ्ले, खुसी शर्मा, भीमा खतिवडा, गजेन्द्र पृथक, झापाली कान्छा अभिषेक, सुनिता कट्टेल, मनीषा बराल, अनु श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्।

No comments:

Post a Comment