यथार्थ र आदर्श (लघुकथा)
bharat khatri
ऊ सानै देखि
भिन्दै स्वभावको थियो । स्कूल जाने बेलामा बरालिएर हिँड्थ्यो, कलेज पढ्ने
बेलामा हुलदंगामा पुग्थ्यो अनि काम गर्ने उमेर पुग्दा बेकार घुम्थ्यो ।
नपढेको, काम नभएको र बस्ने ठेगान पनि नभएको
हुनाले उसलाई कसैले पनि छोरी दिएनन् र उसको विवाह पनि हुन सकेको थिएन ।
त्यत्तिकै मा प्रजातन्त्र आएकोले मुढे बलकै भरमा ऊ एउटा दलमा प्रवेश गर्यो
। तर दलको नीति नियम विपरीत काम गरेको भनेर केही समय पछि उ सो दलबाट
निकालियो र अर्को दलमा पस्यो । यसरी समय-समयमा दल र नीति फेर्दै-फेर्दै उ
हालको दलमा घुसेको थियो ।
कुनै निश्चित शिक्षा, योग्यता वा कार्य
कुशलता नभए पनि छल, बल र चाकडी-चुक्लीको कलामा भने निकै निपुण भइसकेकोले यस
पाला भने उ निकै ठूलो पदमा पुगेको थियो ।
भर्खर आफ्नो पद बहाली गरेर फर्कँदा उसलाई
पत्रकारहरुले उसको वाल्यकाल देखीको जीवनीमा प्रकाश पारिँदिन अनुरोध गरे ।
उसले एकैछिन आँखा चिम्ल्यो, केही बेर घोत्लीयो र गम्भीर मुद्रामा यसरी
आदर्श छाँटन थाल्यो : “ मलाई सानै देखि देशको हाल देखेर चिन्ता लाग्थ्यो र
त्यही चिन्ता र उकुसमुकुसका कारण औपचारिक शिक्षापनि राम्ररी पुरा गर्न
पाईँन । जवानीमा पनि देशमा व्याप्त विभिन्न विकृति र भ्रष्टाचारको विरोध
गर्दै हिँडेकाले काम गर्न र घरजम गर्न समेत समय अनुकूल रहेन…” ।
उसले एक पटक गहिरो सास फेर्यो र फेरी भन्न
थाल्यो “… जनताको राज स्थापना भएपछि पनि आफ्नो अलग र जन पक्षीय
विचारधाराका कारण धेरै पार्टीसँग मिल्न असजिलो भएकोले मैले धेरै पार्टीलाई
छाडेँ र हाल जनताको सेवा गर्नका लागि यो स्थानमा पुगेको छु । मलाई आफ्नो
कार्य क्षमतामा पुरा विश्वास छ र आउने दिनहरुमा जनता प्रतिको कर्तव्य अवश्य
पुरा गरेर छाड्ने छ....
No comments:
Post a Comment